सामुदायिक शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित भएको विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माविले पाँच लाख रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेको छ । जीवन विकास समाजले मंगलबार पोखरिया माविलाई ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ बाट पुरस्कृत गरेको हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई पुरस्कार राशीसहित अवार्ड प्रदान गरेकी हुन् । काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा देशभरका विद्यालयबाट सर्वोत्कृष्ट मुल्याङ्कन गर्दै पोखरिया माविलाई पुरस्कार प्रदान गरिएको जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले बताए ।